प्रदेश सिटीइभिटी बागमतीमा ६ सदस्य नियुक्त

काठमाडौँ । बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (प्रदेश सिटीइभिटी)मा ६ जना नयाँ सदस्य नियुक्त गरेको छ। सामाजिक विकास मन्त्रीस्तरीय निर्णयअनुसार बिहीबार उनीहरूलाई नियुक्त गरिएको हो।

नियुक्त सदस्यहरूलाई सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शपथ गराएकी हुन्।

‘प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् ऐन, २०७४’ अनुसार गठित परिषदमा सामाजिक विकास मन्त्री अध्यक्ष रहने व्यवस्था छ भने एक कार्यकारी निर्देशक रहने व्यवस्था रहेको छ ।

सो बाहेक अन्य सदस्यहरूमा नीति तथा योजना आयोग, विभिन्न मन्त्रालयका सचिवहरू, प्राविधिक तालिमका विज्ञ, उद्योग क्षेत्रका प्रतिनिधि र ट्रेड युनियन समन्वय समितिका सदस्यहरू रहने व्यवस्था छ । नियुक्त गरिएको ६ जना सदस्यहरू विज्ञता र प्रतिनिधि तर्फबाट छनौट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा योजनाबद्ध रूपमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको व्यवस्था गरी प्राविधिक जनशक्ति उत्पादन तथा प्राविधिक सिपको स्तर निर्धारण एवम् प्रमाणीकरणको क्षेत्रमा काम गर्दै आएको छ ।

नवनियुक्त सदस्यहरूमा धादिङका नवराज धिताल, चितवनका नन्दकिशोर चौधरी, मकवानपुरका उज्ज्वल चौलागाई, सिन्धुलीकी सीतामाया स्याङ्तान, काठमाडौँकी हसना महर्जन र माधव देव पन्त छन्।

ऐनको दफा ३ को उपदफा (२) खण्ड (ठ) बमोजिम प्रदेश स्तरीय ट्रेड युनियन समन्वय समितिबाट एक जना सदस्य मनोनयन हुन बाँकी रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *