काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले बजारबाट निरन्तर तरलता खिच्दै आएको छ ।
आज आइतबार पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम झिक्न लागेको हो ।
राष्ट्र बैंकले ४ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकम रहेको छ ।
सावाँ तथा ब्याज भुक्तानी आगामी साउन १ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’,‘ख’र ‘ग’वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।







