काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले साढे ६० अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको छ । गत साउनदेखि जेठसम्म विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५६ अर्ब ७४ करोड तथा स्वचालित प्रणालीबाट ३ अर्ब ८६ करोड गरी कुल ६० अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग विभागका अनुसार ७१७ उद्योगका लागि सो लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ११ महिनामा ३४७ उद्योगका लागि ५६ अर्ब ७४ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट ३७० उद्योगका लागि ३ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
चालु आवको ११ महिनाको अवधिमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै ६६ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ । विभागका अनुसार ११ महिनाको अवधिमा ७०२ वटा साना उद्योग, ९ वटा मध्यम र ६ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । ११ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १७ हजार २५५ जनाले रोजगारी पाउनेछन् ।
विभागका अनुसार हालसम्म ७ हजार ११६ उद्योगका लागि कुल ५ खर्ब ९० अर्ब ३५ करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । हालसम्म स्वचालित प्रणालीबाट ५०९ उद्योगका लागि ११ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ६०७ उद्योगका लागि ५ खर्ब ७८ अर्ब ३६ करोड ८७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसारको लगानी भएमा ३ लाख ४५ हजार १६५ रोजगारी सिर्जना हुने विभागको भनाइ छ ।
सबैभन्दा बढी लगानी प्रतिबद्धता सूचना तथा प्रविध उद्योग र पर्यटनमा आएको छ। सूचना तथा प्रविधि उद्योगमा ३१३. ४४ प्रतिशत, पर्यटनमा २६६.३७ सेवा क्षेत्रमा ७६.११, उत्पादन क्षेत्रमा ४८.७, कृषि उद्योगमा ११.११ पूर्वाधार क्षेत्रमा २ र ऊर्जा क्षेत्रमा १ प्रतिशत मात्रै लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा करिब ७१७ वटा उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएकोमा पर्यटन क्षेत्रका २६६ वटा उद्योगहरुका लागि २३ अर्ब ९४ करोड ४२ लाख बराबरको लगानी प्रतिवद्धता आएको हो ।
यस्तैसेवा क्षेत्रका ७६ वटा उद्योगका लागि ३० अर्ब ४४ करोड ७७ लाख लगानी प्रतिबद्धता प्राप्त भएको छ । सूचना प्रविधि क्षेत्रमा ३१३ वटा उद्योगका लागि १ अर्ब ५७ करोड ३९ लाख लगानी आएको छ । उत्पादन क्षेत्रका ४८ वटा उद्योगका लागि ३ अर्ब १२ करोड २० लाख रुपैयाँ, कृषिका ११ वटा उद्योगका लागि १ अर्ब ४४ करोड ६० लाख, पूर्वाधार क्षेत्रको २ उद्योगका लागि ५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको जेठमा मात्रै साढे ३ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । १४१ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो । स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । जेठमा मात्रै स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ८८ उद्योगमा ५० करोड १७ लाख ७० हजार रुपैयाँ र अप्रुभल रुटबाट ५३ उद्योगमा ३ अर्ब ४ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।







