लुम्बिनी । आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको बजेटप्रति नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशले सकारात्मक प्रतिक्रिया दिएको छ । चेम्बरका अध्यक्ष टकप्रसाद पोखरेलद्वारा जारी विज्ञप्तिमा निजी क्षेत्रका अधिकांश सुझावहरू समेटिएको र बजेटले निजी क्षेत्रलाई सहयात्रीको रूपमा लिएको सन्देश दिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा उत्पादनमुखी कार्यक्रम, पूर्वाधार विकास, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनमा केन्द्रित बजेटले आर्थिक मन्दी हटाएर अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । कृषि, पर्यटन, उर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइएको र स्वदेशी तथा विदेशी लगानी आकर्षणमा बल दिइएको समेत उल्लेख छ ।
अध्यक्ष पोखरेलले युवा लक्षित स्टार्टअप कार्यक्रम, शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार लगानीको व्यवस्था, अनुत्पादक क्षेत्रमा लगानी निरुत्साहजस्ता योजनाहरूलाई अत्यन्तै सकारात्मक कदमको रूपमा लिएका छन् ।
साथै, साना व्यवसायीलाई लक्षित गर्दै अग्रिम कर, न्यूनतम कर, दोहोरो कर तथा कम्पनी दर्ता र नवीकरणमा लाग्ने शुल्क खारेज गर्नु स्वागतयोग्य कदम भएको उल्लेख गरिएको छ। डिजिटल सेवा, सूचना प्रविधि, होटल उद्योग र विद्युतिय सवारीसाधनमा कर छुटका व्यवस्था र यात्रुहरूले ल्याउन पाउने विदेशी मुद्राको सीमा बढाउने निर्णयहरूलाई पनि चेम्बरले प्रशंसा गरेको छ ।






