नेतृत्व केवल सत्ताको कुर्सी मात्रै होइन, जनतासँगको सम्बन्ध पनि हो : मन्त्री यादव

मोरङ । खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको इमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास आफूले गर्दै आएको दाबी गरेका छन् ।

सोमबार मोरङको रंगेली दोस्रो खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सीमित स्रोत र साधनकाबीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरुमा रहेकाले तीनै तहका सरकारसँग समन्वय गरेर आफ्नो दायित्वलाई जिम्मेवारपूर्वक ढंगले निर्वाह गर्नुपर्ने बताए ।

‘हामी नागरिकको सेवामा सर्मपित छौँ । हाम्रो नेतृत्व केवल सत्ताको कुर्सी मात्र होइन, नागरिकसँगको इमानदार सम्बन्ध पनि हो,’ यादवले भने, ‘रंगेलीको माटोले विकासको सशक्त चाहना राखेको छ । यो आयोजनाको शिलान्यास त्यसै चाहना र सम्भावनाको मूर्त रूप हो ।’

यसैगरी उनले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको सामाजिक न्यायको मार्गदर्शनमा आज रंगेली दोस्रो खानेपानी आयोजना मार्फत एउटा नयाँ युगको सुरुवातको ढोका खोलिएको बताए ।

समावेशी विकास र नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्यप्रति प्रतिबद्ध रही, देशैभर खानेपानी तथा सरसफाइका पूर्वाधार निर्माणमा तीव्रता दिई सरकारको ‘एक घर, एक धारा’ भन्ने लक्ष्यलाई अब सम्भावनाबाट यथार्थतर्फ डोर्‍याउन थालेको समेत मन्त्री यादवले जिकिर गरे ।

‘हामी नेपाली जनताका सेवक हौं । जनताको खुशी नै सरकारको खुशी हो । नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकार पूर्ण प्रतिबद्ध रहेको छ । जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकासको काम हामीले गरेर देखाउँदैछौँ,’ उनले भने ।

सन् २०३० सम्म सबै नेपाली नागरिकलाई सुरक्षित खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने दिगो विकास लक्ष्य प्राप्तिका दिशामा सरकारले आफ्ना काम र योजनालाई अघि बढाईरहेको समेत उनले जानकारी दिए ।

उक्त महत्त्वपूर्ण आयोजना सम्पन्न भएपश्चात रङ्गेली नगरपालिकाको वडा नं. २ (लक्ष्मीपुर, दौलतपुर) र वडा नं. ९ (दोभाना बजार र फर्साडाँगी) का कुल तीन हजार १६९ घरधुरीका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

‘यस खानेपानी योजनालाई गुणस्तर, समयसीमा र पारदर्शिताको मापदण्ड अनुसार प्रविधि मैत्री तरिकाले निर्माण कार्य अघि बढाइनेछ । निर्माण कार्यमा कुनै पनि प्रकारको लापरवाही हुनेछैन र आवश्यक प्राविधिक अनुगमन निरन्तर गरिनेछ,’ उनले भने ।

उक्त आयोजनाबाट यहाँका महिला र बालबालिकाहरूलाई पानीको लागि लामो दूरी तय गर्ने बाध्यतालाई समाप्त गर्ने र सामुदायिक स्वास्थ्यमा सुधार ल्याएर पानीजन्य रोगको जोखिम न्युनिकरण गर्ने अपेक्षा लिइएको छ ।

रंगेली दोस्रो खानेपानी आयोजनाको सफल कार्यान्वयन पश्चात, रंगेली नगर भविष्यमा स्वच्छ र सुरक्षित खानेपानीमा आत्मनिर्भर एक विकसित नगरका रूपमा परिचित हुने अपेक्षा गरिएको रङगेली नगरप्रमुख दीलिपकुमार अग्रवालले बताए ।

‘गुणस्तरीय पानीको पहुँचले नागरिकहरूको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउनेछ । दीर्घकालमा उपचार तथा औषधोपचारमा लाग्ने खर्चमा उल्लेखनीय कमी आउने हामीले बिश्वास लिएका छौं,’ उनले भने ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *