नेपाल विद्युत् प्राधिकरणको स्वेतपत्र जारी, प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ घाटामा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र जारी गरेका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले प्राधिकरण ५ अर्ब २६ करोड घाटामा रहेको उल्लेख गरेको छन् ।

प्राधिकरणले गत फागुनसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

साढे ४६ अर्ब रुपैयाँ नाफा भने पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा–नोक्सान गणना गर्दा हालसम्म ५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको शाक्यले बताए ।

महालेखाको प्रतिवेदनअनुसार लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका बुँदामध्ये प्राधिकरणले सात अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको र चार अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखांकन गरेको दाबी शाक्यको छ ।

समग्रमा आर्थिक वर्ष २०८०/०८१ मा देखाएको नाफा–नोक्सान हिसाबमा थप समायोजन गरी नाफा–नोक्सान कायम गर्नुपर्ने देखिने उनको भनाइ छ ।

“यसरी महालेखाको प्रतिवेदनमा औँल्याइएको कैफियत र प्राधिकरणले तयार गरेको वासलात तथा नाफा–नोक्सान विवरण आदिमा मूलभूतरूपमा फरक पर्न गएकाले संस्थाको वास्तविक आर्थिक अवस्था पहिचान गर्ने र प्रस्तुत तथ्यांकको विश्वसनियता कायम गर्ने हेतुले प्राधिकरणको वित्तीय, प्राविधिक तथा तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्यांकनलगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्नका लागि सम्पत्ति तथा दायित्व मूल्यांकनको प्रक्रिया अगाडि बढाइनेछ,” उनले भने ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *