प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरे ।

“हाम्रो मुलुक उर्बर र जीवनमय छ । यहाँ लगानीको प्रचुर सम्भावना छ । हामी हाम्रै पालामा केही गर्न सक्छौँ भन्ने आत्मविश्वासका साथ काम गरौँ । हाम्रो यात्रा अग्रगामी कदमतर्फ अवश्य बढ्नेछ,” प्रधानमन्त्री ओलीले भने, “शिक्षालगायत हरेक क्षेत्रमा सूचना र प्रविधिको प्रयोग बढ्दै गएको छ । एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने अवस्था अन्त्यका लागि व्यक्तिगत पहलमा पनि गत वर्षदेखि अनलाइन माध्यमबाट महत्त्वपूर्ण विषयमा कक्षा सञ्चालन गरियो । विद्यार्थीको भविष्य अन्धकारमा पार्नुहुन्न भनेर गरिएका यस्ता कामलाई प्रोत्साहन गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले अब हामीले आफ्नै सुरक्षासहितको डेटा प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि सूचना प्रविधिको विकास आफैँमा जवाफ भएको टिप्पणी गरे ।

कार्यक्रममा राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्रा.डा. शशिधर राम जोशीसहित विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गरिएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *