आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको बिदापछि अधिवेशन सुरु गर्ने तयारी गरेपनि शिक्षकहरुको आन्दोलनको दबाबले संसदको बजेट अधिवेशन केही दिन अगावै बोलाइएको हो ।

शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ’, बर्तौलाले भने, ‘उहाँले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *