काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ ।
प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको शुक्रबारको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रुपमा गराएको आरोप लगाए ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको थियो भने तोडफोड र आगजनीबाट निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो ।
राप्रपा सांसद प्रधानले प्रहरीले तीनकुनेको मञ्चमा टियर ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित बनाएको र अप्रिय घटना भएको जिकिर गरे । ‘प्रधानमन्त्रीले शान्त भनेको सभामा टियर ग्यास हानिएको थियो भने शान्त हुन्थ्यो ?’ प्रधानले प्रश्न गरे ।
उनले थपे, ‘राष्ट्रियगान बज्दै गर्दा टियर ग्यास हानिएको छ । अन्तिमसम्म ७/८ सय टियर ग्यास हानियो । यसले देखाउँछ– उत्तेजित गराउने काम सरकारले नै गर्यो ।’, ‘त्यो दिन चेन अफ कमान्ड ब्रेक भएको छ । नेतृत्वको हिसाबले प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।’






