काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । उनलाई बुद्ध एयरको जहाजमा शुक्रबार मध्याह्न भद्रपुरबाट काठमाडौँ ल्याइएको हो ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंलाई म्याद थप गर्ने तयारी गरिएको छ । प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सुरक्षा स्रोतका अनुसार उनलाई शुक्रबार बिहान प्रदेश नम्बर १–०१–००२ च ३७९३ गाडीमा भारततर्फबाट नेपाली क्षेत्रमा ल्याइएको थियो ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको छ । प्रसाईं १५ गतेको घटनापछि भारत फरार भएका थिए ।






