काठमाडौं । इन्टरनेसनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाका लागि संयुक्त रूपमा काम सुरु गर्ने भएका छन् । बुधबार काठमाडौँमा दुई संस्थाबीच नेपालमा रहेको बेरोजगारको समस्या अन्त्य गर्ने बारेमा मिलेर काम गर्ने सम्झौता भएको हो ।
रोजगारीको अवसर सिर्जना गर्न सबैभन्दा पहिला भाषिक ज्ञान महत्त्वपूर्ण भएकाले दुई संस्थाबीच नेपालमा चिनियाँ भाषा सिकाउने र चिनियाँ बजारमा रोजगारीको अवसर सिर्जना गर्न पहल गर्नेबारे सम्झौता भएको छ । २०२५ देखि २०२८ सम्म उक्त योजनाअनुसार काम गर्ने सहमति भएको आईएसभीजीका अध्यक्ष अजित खड्काले बताए ।
योजनाअनुसार नेपालमा भएका युवा युवतीहरूलाई क्षमता अभिवृद्धि गर्ने कामहरू अघि बढाइने जानकारी दिए । परियोजना समाज कल्याण परिषद् र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले स्वीकृत गरिसकेपछि आवश्यक परेका स्थानहरूमा गएर काम सुरु गर्ने जानकारी दिए ।
उनका अनुसार दुई संस्थाले नेपालको रोजगारीको समस्या चिर्नका लागि आगामी दिनहरूमा पनि विभिन्न किसिमका योजनाहरू अघि बढाउने गरी सहकार्य गरेर अघि बढ्ने सहमति गरेको छ ।






