काठमाडौं । चैत २९ देखि ३१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपाल (सोनेट)को आयोजनामा हुन लागेको उक्त सम्मेलन भौतिक मन्त्रालय र शहरी विकास मन्त्रालयको सह-आयोजना रहेको जनाइएको छ । सोनेटले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिइएको हो ।
दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ ।
सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल अध्यक्ष डा. हरेराम श्रेष्ठलेले स्मार्ट यातायात प्रणालीको प्रवर्द्धन कृत्रिम बुद्धिमत्ता र बौद्धिक यातायात प्रणालीको प्रयोगद्वारा स्मार्ट यातायात सेवा विस्तार गर्न सम्मेलनले मदत गर्ने बताए ।
उनले उत्थानशील पूर्वाधारको विकास प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा अन्य विपद्हरुको सामना गर्न सक्ने यातायात प्रणालीको निर्माण गर्नु सम्मेलनको उद्देश्य रहेको उल्लेख गरे ।
‘यस सम्मेलनले यातायात क्षेत्रलाई सुरक्षित दिगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने,‘ विभिन्न सरोकारवालबीच सहकार्य गरी प्रभावकारी नीति निर्माण प्रविधिको प्रयोग र यातायात संरचनामा सुधारका उपायहरुबारे छलफल गरिनेछ । साथै यस सम्मेलनमा १२ भन्दा बढी मुलुकका विज्ञहरुको सहभागिता रहनेछ र १६ वटा सेशनमा छलफल गरिनेछ । २२ जना अन्तराष्ट्रिय वक्ता र ४५ भन्दा बढी राष्ट्रिय वक्ता तथा प्यानलिस्टहरुको उपस्थितिमा छलफल गरिने छ ।’
यस सम्मेलनले नेपालको यातायात क्षेत्रलाई सुरक्षित, दिगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको अध्यक्ष श्रेष्ठको दाबी छ ।
यस्तै इन्जिनियर हेमन्त तिवारीले उक्त सम्मेलनको पहिलो दिन विदेशी विज्ञहरुसँग छलफलहुने, दोस्रो दिन नेपालका एकेडेमिक क्षेत्रका सरोकरवालाहरुसँग र तेस्रो दिन सम्बद्ध सरकारी निकायहरुसँग रोड मेन्टिनेन्स रोड सेफ्टीको विषयमा छलफल गरिने जानकारी दिए ।






