राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन

काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा गर्न लागेको प्रदर्शन तथा विरोध सभालाई सीसी क्यामेरा र ड्रोनको सहयोगमा निगरानी गर्ने भएको छ ।

राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाकाको माग राखेर आज काठमाडौंमा र्यालीसहित विरोध सभा गर्दैछ । कार्यक्रममा सहभागी हुन उपत्यका बाहिरका जिल्लाबाट ठूलो संख्यामा मान्छेहरु सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ ।

राप्रपाको रयाली तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् ।

बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजारको हाराहारीमा प्रहरी परिचालन हुने बताए ।

सादा पोशाकदेखि बर्दीका प्रहरी गरेर २ हजार खटिने उनको भनाइ छ । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् ।

यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्‍खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।

पार्टीका अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपाल, जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतले समेत प्रदर्शनलाई समर्थन गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *