जनता एग्रो एन्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच साझेदारी

काठमाडौं । जनता एग्रो एन्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौतामा हस्ताक्षर भएको छ । जैविक प्रविधि मार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्य भएको हो ।

अप्रिल २ मा उक्त सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एन्ड फरेष्ट्रिका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरेका छन् ।

जनता एग्रो एन्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबिच जनता एग्रोले नेपालमा गरिरहेको जैविक खेतीमा नवीनतम आधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको हेरचाह गर्ने नव रणनीतिहरू, फसल काट्ने नयाँ नयाँ तरिका, उत्पादन तथा गुणस्तर वृद्धि गर्ने लगायतका क्षेत्रमा सहकार्य भएको हो । साझेदारीले नेपाली कृषि क्षेत्रको दिगो विकास, नयाँ कृषि विधि र नेपाली कृषकहरूको जीवनस्तर सुधार्ने उद्देश्यले राखिएको छ ।

जनता एग्रो एन्ड फरेष्ट्रीका अध्यक्ष पवनकुमार गोल्यानले कसेस्टार्ट विश्वविद्यालयसँगको साझेदारी नेपालको समग्र कृषि क्षेत्रमा आमूल परिवर्तन लागि महत्त्वपूर्ण सुरुवात भएको बताए । उनले भने, ‘विश्वविद्यालयको मूल्यवान् विशेषज्ञता तथा दक्षताले हामीलाई हाम्रा कृषकहरूलाई कृषि उपकरणहरू उपलब्ध गराउनमा मद्दत गर्नेछ, जसले उत्पादनमा वृद्धि हुनुको साथै नेपालको कृषि क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउनेछ ।’

कसेस्टार्ट विश्वविद्यालयको विशेषज्ञता र जनता एग्रो एन्ड फरेष्ट्रिको प्रयासले नेपालका कृषकहरूलाई आधुनिक कृषि प्रक्रियामा दक्ष बनाउन र कृषि उत्पादनको गुणस्तर र बजार प्रतिस्पर्धामा वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । यस साझेदारीमा नियमित कार्यशालाहरू, खोज अध्ययनहरू र तालिम कार्यक्रमहरू समावेश छन्, जसले दुई संस्थाहरूबिच सहज ज्ञान स्थानान्तरणको प्रक्रियामा मद्दत पुर्‍याउनेछ । परियोजना कार्यान्वयन प्रक्रियामा दुवै पक्षको नेतृत्वको लागि एक समर्पित संयुक्त टोली रहनेछ ।

कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनले भने, ‘हाम्रो मिसन दिगो कृषि ज्ञानको विस्तार गर्नु हो र जनता एग्रोसँगको यो साझेदारी कृषि क्षेत्रको विकासमा नयाँ आयामको एक उत्तम कदम हो । हाम्रो टोली नेपालमा जैविक कृषि क्षेत्रलाई पुनः रूपान्तरण गर्न प्रतिबद्ध छ ।’

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबिच दुई पक्षीय भेटवार्तापछि दुई मुलुकबीच आज बैंककको सरकारी भवनमा विभिन्न सम्झौता र सहमति पत्रमा हस्ताक्षर तथा आदानप्रदान समेत भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *