काठमाडौँ । राष्ट्रय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटना दुःखद् र निन्दनीय भएको बताएका छन्।
आइतबार संसद् भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले तीनकुने घटनामा हिंसा भड्काउन सरकार आफै उद्दत भएको आरोप लगाए।
उनले शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा प्रहरीले छतबाट गोली र अश्रुग्यास हान्नुले घटनाको सम्पूर्ण दोषी सरकार भएको जिकिर गरे।
उनले लामो समयसम्म आगोलागी हुँदा पनि सरकारले मान्छेको उद्धार गर्न नसक्नु सरकारको गम्भीर कमजोरी भएको बताए। उनले घटनाबारे छानबिन गर्न निष्पक्षरुपमा न्यायिक आयोग गठन गर्न माग गरे।
सरकारले नियन्त्रणमा लिएका आफ्ना नेताहरु कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नभएकाले २४ घण्टाभित्र बिनाशर्त रिहा गर्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष लिङ्देनले संसद् बैठकमा एक सांसदले राजावादीलाई जेल हाल्नुपर्छ भनेपछि आफूले सबैभन्दा ठूलो राजावादी म छु सक्छौ भने जेल हाल भनेको बताए।
काठमाडौँ महानगरकाका प्रमुख बालेन्द्र साहले पूर्वराजालाई जरिवाना पत्र लेख्नु गम्भीर त्रुटि भएको उनको भनाइ छ।






