काठमाण्डौ । नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्तिको दिन नजिकिँदै गर्दा नयाँ ट्वीस्ट देखि थालेका छन् ।
गभर्नर नियुक्तिको मिति नजिकिँदै गर्दा एकपछि अर्को नाम आउन थालेका छन् । नेपाल राष्ट्रबैंकको गभर्नरमा योग्य र उपयुक्त पात्रहरुलाई पछि पार्ने गरी व्यापारी समूहले आ- आफ्ना स्वार्थका व्यक्ति अधि सारिरहेका छन् ।
यसैबीच विवादित व्यापारी चन्द्र ढकाल गभर्नर नियुक्तिमा खुलेरै लागेका छन् । नेप्सेमा नियुक्ति भएका नारद कुमार लुइँटेलको नियुक्ति नै रद्ध गराएर आफ्नो स्वार्थ अनुकूलका चुडामणि चापागाईंलााई नियुक्त गर्न सफल भएका ढकाल राष्ट्र बैैंकमा समेत आफ्नै स्वार्थका व्यक्ति गभर्नर बनाउने अस्वस्थ प्रतिस्पर्धामा छन् । उनले बैंकका संचालक समिति सदस्य रबिन्द्र पान्डेलाई बोकेको चर्चा छ ।
पटक पटक ग्लोबल आइएमइ बैंकका अध्यक्ष बनेका ढकाल आफू अनुकूलका गभर्नर नियुक्त गरेर वित्तीय अपराधबाट उम्किने रणनीतिमा बनाईरहेका छन् ।
यसैबीच पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको नाम चर्चामा आएको छ । यसले गभर्नर नियुक्तिको खेलमा नयाँ मोड ल्याउन सक्ने देखिएको छ ।
चर्चित व्यवसायी दीपक भट्ट समूहले अघि सारेका व्यक्ति गभर्नर बन्छन् भन्ने धारणा बनिरहेकै बेला अहिले राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउनुपर्ने लबिङ्ग सुरु भएको छ ।
“गभर्नरमा राजेन्द्र क्षेत्रीको नाम आएको छ । उहाँ अहिलेको आर्थिक परिस्थिति सम्हाल्न सक्ने योग्य व्यक्ति हो । उहाँसँग पैसा खर्च गर्न सक्ने र नेता मिलाउन सक्ने पहुँच छैन, त्यसैले उहाँलाई बनाउन गाह्रो छ ।” एक व्यापारीक घरानाले संचालन गरेका बैंकका सिइओले भने ।
उनी भन्छन्,- ‘गभर्नर बन्न ठुलो चलखेल हुन्छ । त्यसक लागि विभिन्न शक्तिकेन्द्रहरुलाई रिझाउन पर्छ । तर उहाँमा चाकडी गर्न सक्ने क्षमता छ जस्तो मलाई लाग्दैन । कसैसँग सहयोग मागेको पनि थाहा छैन ।’
यसैबीच बिशाल ग्रुप लगायतका घराना र केही बिचौलिया समूहले विभिन्न व्यापारिक तथा औद्योगिक घरानालाई समातेर प्रणालीभित्रकै एक पात्रलाई आफ्नो स्वार्थमा नियुक्त गर्न सहयोग नै उठाउन थालेको भन्ने सुनिएको पूर्वगभर्नरहरु नै दावी गर्छन् । त्यसैले पनि नियुक्तिको खेल निकै पेचिलो र यसले नयाँ मोड लिनसक्ने सम्भावना भने बढेको छ ।
गभर्नर बन्ने दौडमा राष्ट्रबैंकका दुई डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु, वाणिज्य बैंकका सीईओहरुको नाम पनि आएको छ ।
नेपाल सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहेको राष्ट्रबैंकलाई हाँक्ने गभर्नरको रुपमा व्यापारीक घरानाले कब्जा गरेको अवस्थामा देशको अर्थतन्त्र थप डामाडोल हुने त्रास उत्पन्न भएको छ ।
को हुन् क्षेत्री ?
राजेन्द्र किशोर क्षेत्री छोटो समयकै लागि भए पनि नेपाल सरकारको मुख्य सचिव भइसकेका पूर्व प्रशासक हुन् । ५८ वर्षे उमेर हदका कारण २०७४ असार २९ गते मुख्यसचिव बनेका उनी २०७४ साल कात्तिक ६ गते अवकाश भएका थिए ।
उनी परराष्टमन्त्री तथा कांग्रेस नेतृ आरजु देउवा निकट पनि मानिन्छन् । मुख्यसचिवबाट अवकास भएपछि उनी केही व्यवसायिक क्षेत्रमा परामर्शदाताको रुपमा काम गर्दै आएका छन् ।
क्षेत्री अर्थशास्त्र, नेपालको ऊर्जा तथा जलस्रोत, राष्ट्रिय तथा अन्यर्राष्ट्रिय कानुन, कर, बिमा र भौतिक पूर्वाधारका क्षेत्रका जानकार हुन् । उनले सहकारी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालयको सचिवका रूपमा काम गरेका छन् ।






