काठमाडौं । नेपालको प्रसिद्ध डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ १६ चैतदेखि १३ वैशाखसम्म हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन २०२५’ का लागि धनगढी एफसीको मुख्य प्रायोजक बनेको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता भएको छ । सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराई र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरे । यस प्रायोजनमार्फत माई सेकेन्ड टिचर नेपालले शिक्षा र खेलकुदलाई सशक्त रूपमा जोड्ने लक्ष्य राखेको छ ।
सहकार्यबारे जानकारी दिँदै भट्टराईले आगामी नेपाल सुपर लिगमा धनगढी एफसीसँगको सहकार्यले नेपालको शिक्षा सँगसँगै खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । ‘माई सेकेन्ड टिचर नपालले प्रविधिका माध्यमबाट नेपालले शिक्षा रूपान्तरणमा कार्य गर्दै आएको छ,’ भट्टराईले भनिन्, ‘यो सहकार्य प्रविधि र नवप्रवर्तन सहितको शिक्षालाई खेलकुदसँग जोड्ने महत्त्वपूर्ण कदम हो ।’
यसैगरी धनगढी एफसी अध्यक्ष शाहीले माई सेकेन्ड टिचरसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै यस सहकार्यले शिक्षालाई खेलकुदसँग जोड्ने नयाँ सम्भावनाको उजागार गरेको विचार व्यक्त गरे ।






