१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सशस्त्रका सई पक्राउ

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका–४, पिपराढीस्थित सशस्त्र प्रहरी बलको रेलवे सुरक्षा बेसका इन्चार्ज सई धर्मेन्द्र सिंहलाई बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय १० वर्षीया बालिकालाई बिहान मर्निङ वाकका लागि सँगै लगेका सई सिंहले कपडा खोल्न लगाएको आरोप लागेको छ। बालिकाले अस्वीकार गर्दा जबरजस्ती कपडा खोल्ने प्रयास गरेपछि उनी भागेर घर पुगेकी थिइन्।

बालिकाले परिवारलाई घटनाबारे जानकारी दिएपछि सयौँ स्थानीय रेलवे सुरक्षा बेसमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए। आक्रोशित भिडले आरोपी सई सिंहलाई कुटपिट समेत गरेका थिए।
स्थिति तनावपूर्ण बन्दै गएपछि सशस्त्र प्रहरीले हस्तक्षेप गर्दै सिंहलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो।

पीडित बालिका साँझ अबेर अभिभावकका साथ जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुगेकी थिइन्। महोत्तरी प्रहरी प्रमुख एसपी नकुल पोखरेलका अनुसार घटनाको औपचारिक अनुसन्धान सुरु भइसकेको छ।

उनले भने, ‘हालसम्म पीडित पक्षबाट औपचारिक जाहेरी दर्ता नभए पनि बालिका प्रहरी सम्पर्कमा छिन्। मेडिकल परीक्षण लगायत कार्य भईरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको छ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *