माथिल्लो अरूण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरू

किमाथांका (संखुवासभा) । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरू भएको छ ।

पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रूख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिए । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो। आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।

भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रूख कटानका लागि रु १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ। प्रशासन प्रमुख चौहानका अनुसार उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी एक लाख ५० हजार तोकिएको थियो । आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन रु १३ करोड ६५ लाख वन विभागलाई भुक्तानी गरिसकेको छ।

भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ। पहुँचमार्ग निर्माण गर्न रु सात अर्ब ९१ करोड ३९ लाख विनियोजन गरिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *