आगामी आर्थिक वर्षको बजेट लेखन सुरु

काठमाडाैं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको करिब १९ खर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) भित्र रही बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

सबै मन्त्रालयहरुले बजेट सीमा र तर्जुमा मार्गदर्शन पाइसकेका छन् । मन्त्रालयहरुले आगामी चैत १ देखि २० गतेभित्र नीति, कार्यक्रम र सूचक विवरण अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई बुझाउनु पर्नेछ । बजेटमा समावेश हुने विषयबारे सुझाव सङ्कलन चैत १५ देखि वैशाख १० भित्र गरिनेछ ।

चैत १६-२२ मा राष्ट्रिय योजना आयोगमा नीति तथा कार्यक्रम छलफल हुनेछ भने चैत १५ भित्र मन्त्रालयहरुले कार्यान्वयन योजनाका बजेट प्रस्ताव पेस गर्नुपर्नेछ । मन्त्रालयगत छलफल चैत २४ देखि वैशाख १५ सम्म हुनेछ ।

चैत २८ भित्र अन्तरसरकारी वित्त परिषद्को बैठक बसेर बजेट प्राथमिकतामाथि सांसदहरूसँग छलफल गरिनेछ । राजनीतिक दल, पूर्वअर्थमन्त्री, पूर्वगभर्नर, पूर्वअर्थसचिव, अर्थशास्त्री तथा विज्ञहरूसँग वैशाख २५ सम्म छलफल चल्नेछ । वैशाख १० भित्र विनियोजन विधेयकका सिद्धान्त तयार गरी वैशाख १५ मा संसदमा पेश गरिनेछ ।

जेठ १ भित्र राजस्व परामर्श समितिले प्रतिवेदन बुझाउनेछ भने जेठ १० मा अर्थमन्त्रीले राष्ट्रपतिसँग बजेट ‘बिफ्रिङ’ गर्नेछन् । जेठ १४ मा मन्त्रिपरिषद्मा बजेट अन्तिम छलफल गरी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गरिनेछ ।

यसैबीच, अर्थ मन्त्रालयले बजेट लेखन समिति र राजस्व परामर्श समिति गठन गरेको छ । बजेट मस्यौदा समिति श्रीकृष्ण नेपालको संयोजकत्वमा गठन भएको छ भने राजस्व सचिव दिनेश कुमार घिमिरेको नेतृत्वमा राजस्व परामर्श समिति गठन भएको छ । समितिले राजस्व नीति, कर तथा गैरकर संरचना, राजस्व चुहावट नियन्त्रण रणनीति तयार गर्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *