काठमाडौँ । पूर्व राजदूत विजयकान्त कर्णले नेपालमा सबैभन्दा धेरै भूमिहीन मधेसी दलित, थारु र मुस्लिम रहेको बताएका छन् । कर्णले मधेसी, दलित तथा भूमिहीनलाई जग्गा वितरण गर्न राज्यले विभिन्न उल्झनमा फसाउने गरेको बताए ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट बौद्धिक पेसाकर्मी महासंघले शुक्रवार भूमि सम्बन्धी अध्यादेशबारे आयोजना गरेको बृहत् अन्तरक्रियामा उनले नेपाल सरकारसँग प्रशस्त जग्गा भएको र ती जग्गा कसरी बेच्ने भन्नेमै अध्यादेश केन्द्रित भएको भन्दै यो अध्यादेश बिचौलियाहरूका लागि ल्याइएको बताए।
‘यो अध्यादेशमा जग्गाका बिचौलियाहरू लागेका छन्, उनीहरूका लागि यो भूमि सम्बन्धी अध्यादेश ल्याइएको छ’, उनले दाबी गरे, ‘थुप्रै ठाउँमा थुप्रै जग्गा छन् । ती आआफ्ना व्यक्ति तथा बिचौलियाहरूलाई वितरण गर्न यो अध्यादेश ल्याइएको छ ।’ उनले विगतदेखि नै भूमि आयोग र पुनर्वास कम्पनीहरू बनाइए पनि ती सबै दलका आधारमा बनेको र ती आयोगहरूले आआफ्नो पार्टीका कार्यकर्तालाई मात्र जग्गा वितरण गरेको बताए ।
अहिलेको भूमि सम्बन्धी अध्यादेशले राजनीतिक रूपमा दुरुपयोग हुने सम्भावना उत्तिकै रहेको र राजदरबारको जग्गा र गिरीबन्धुको जग्गा बेच्न यो अध्यादेश ल्याएको उनको भनाइ थियो ।






