नेपालमा थप लगानी गर्न जापानका व्यावसायिक कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन् ।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरुमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए । उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरुका लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरुलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री पौडेलले विदेशी लगानीकर्ताहरुका लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीका लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे । उनले सरकारले निजी क्षेत्रका सरोकारहरुलाई सम्बोधन गरी विभिन्न कानुनहरु अध्यादेशमार्फत संशोधन गरी लगानीका लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिए ।

टोलीमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्यालीलगायत एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *