काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पाथीभरा मन्दिरमा कुनै एक व्यवसायीको लाभका लागि केबलकार बनाउन दिन नहुने बताएका छन्।
आइतवार काठमाडौँमा पाथीभरा केबलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्। उनले जनतामाथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी नभएको बताए।
उनले सरकारले एकजना व्यापारीको फाइदा, केही राजनीतिक नेताको कमिशन र शेयर सुरक्षाका लागि जनतामाथि गोली चलाएर केबलकार बनाउन दिन खोजेको आरोप लगाए। उनले पाथीभरा मन्दिरमा केबलकारको आवश्यकता, स्थानीय जनताको फाइदा, मन्दिरको मौलिकताको सुरक्षा, सनातन परम्परामाथि आक्रमण र सुरक्षाका विषयमा विश्लेषण गरेर मात्रै केबलकार निर्माण कार्यअघि बढाउनुपर्नेमा जोड दिए।
उनले सरकारले केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने बताए। उनले केबलकार निर्माण कार्य रोक्दै सरकारले जनतामाथि गरिएको प्रहरी दमन रोकी सहज वातावरण र जनजीवनलाई सहज बनाउँदै आतंकको अन्त्य गर्न ध्यानाकर्षण गराए। उनले सरकार व्यवसायीको व्यक्तिगत लाभसँग सम्बन्धी विषयहरूमा मात्रै केन्द्रित हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राप्रपाले प्रतिवाद गर्ने चेतावनी दिए।
उनले भने, ‘सरकारले कुनै व्यापारीको फाइदा, केही नेताहरूको कमिशन र शेयर सुरक्षाका लागि जनतामाथि होली चलाएर पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी छैन। केबलकारले त्यहाँको मौलिकताको सुरक्षा,सनातन परम्परामाथि आक्रमण र सुरक्षा हुन्छ कि हुँदैन भन्ने विश्लेषण गरेर मात्रै केबलकार निर्माण कार्यअघि बढाउनुपर्नेमा जोड दिए।
उनले सरकारले दमन र निर्माण कार्य स्थगित गरेर वार्ता र संवादको वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले सरकारसँग थुनामा रहेका मानिसलाई छोड्न र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरे।






