अध्यक्ष ढकालको बदमासी: नब्बे हजारको जग्गा प्रतिरोपनी ९० लाखमा खरिद, के छ स्वार्थ ?

काठमाडौं। पाथीभराको तल्लो फेदी काफ्लेपाटीमा केवलकारको ‘बेस स्टेशन’बनाउन खरिद गरिएको जग्गा बजार मूल्यभन्दा आत्याधिक मूल्यमा खरीद गरेको पाईएको छ।

चन्द ढकाल नेतृत्वको अईएमई ग्रुप अन्तर्गतको पाथीभरादेवी दर्शर्न केवलकार प्रालिका नाममा ताप्लेजुङको फुङलिङ नगरपालिका-११ काफ्लेपाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको र त्यहाँको हालको बजारमूल्य ९० हजार रुपैयाँ पर्ने जग्गालाई ९० लाख रुपैयाँ प्रतिरोपनीका दरले खरीद गरेको पाईएपछि केवलकार निर्माण पक्षमाथि शंका उपशंका पैदा भएको हो ।

मालपोत कार्यालय ताप्लेजुङको तथ्यांक मा पाथीभरादेवी दर्शर्न केवलकार प्रालि नामक कम्पनीलाई पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले सो मूल्यमा २९ रोपनी जग्गा बिक्री गरेको तथ्य भेटिएको हो। मालपोत कार्यालय ताप्लेजुङका अनुसार २९ रोपनी जग्गा कारोबार गर्दा पूँजीगत लाभकर १ करोड ३० लाख ३७ हजार र रजिष्ट्रेशन दस्तुरवापत १ करोड ४ लाख ४० हजार रुपैयाँ गरी २ करोड ३४ लाख ७७ हजार रुपैयाँ राजस्व तिरिएको पाईएको छ ।

केवलकार निर्माण कम्पनी र अध्यक्ष  बरुवाल कनेक्सन:

पाथिभरा दर्शन केवलकार प्रालिमा ६ जना शेयरधनी छन्। जसमध्ये स्वर्गीय पुष्पबहादुर बरुवाल पनि एक हुन् । बरुवाल पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष थिए । पाथीभरादेवी दर्शन केवलकार प्रालिलाई जग्गा बिक्री गर्ने बरुवालको लगानी यती होल्डिङ्सको लगानी रहेको पाथिभरा दर्शन केवलकार प्रालिमा छ । बरुवालले दोहोरो दोहोरो स्वार्थ लिएर बजारमूल्य भन्दा आध्याधिक मूल्य आफ्नै कम्पनीलाई बिक्री गरेको देखिन्छ। त्यस्तै पाथीभरादेवी दर्शन केवलकार प्रालिका डाइरेक्टर ईश्वरी पौडेललाई पनि यस कम्पनीमा हिस्सेदार बनाईएको छ। जसका कारण उनले पनि यस कम्पनीलाई महँगोमा जग्गा उपलव्ध गराएका छन्।

बजारमूल्यभन्दा महँगोमा जग्गा बिक्री गर्ने बरुवाल आँफै जग्गा किन्ने कम्पनीको सञ्चालक र पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष पनि स्वयम् आँफै थिए । बरुवाल केपी शर्मा ओलीका निकट थिए । न्युयोर्कमा बस्दै आएका बरुवालको पनि कोरोनाका  निधन भईसकेको छ।

पाथीभरा केवलकार दर्शन प्रालिका अध्यक्ष सोनाम शेर्पा छन् । उनी यती होल्डिङ्सका तत्कालीन मालिक स्वर्गीय आङछिरिङ शेर्पाका सहोदर दाजु हुन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँगै आङछिरिङको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यति होल्डिङ्सको जिम्मेवारी उनैले सम्हाल्छन् ।

काफ्लेपाटीमा पाथीभरा देवी केवलकार दर्शन प्रालिले ९४ हजार रुपैयाँ प्रतिरोपनी खरीद गरेर ९० लाख रुपैयाँ प्रतिरोपनी मूल्य कायम गरी पाथीभरा देवी दर्शन केवलकारका प्रालिको नाममा जग्गा नामसारी गरेको स्थानीय श्याम लिम्बु बताउँछन्। उनी भन्छन् – ‘केवलकार कम्पनीको नाममा ९० लाख रुपैयाँ देखाएर नामसारी गरेका हुन्।’

ढकालले केवलकार सञ्चालनका लागि ताप्लेजुङवासीको सहयोग रहेको देखाउन राजनीतिक साँठगाँठ मिल्ने स्थानीयलाई कम्पनीमा हिस्सेदार बनाएर परियोजना महँगो देखाउँदै आगामी दिनमा जारी गरिने आईपीओ निष्काशनमा शेयरको मूल्य निर्धारणमा समेत चलखेल गर्न खोजेको स्थानीयको गुनासो छ । केवलकार निर्माणको नाममा व्यापारी चन्द्र ढकालबाट आँफूहरु ठगिएको उनीहरुको गुनासो छ।

परियोजनाको अधिक मूल्यांकन राखेर जग्गा पास गरेपछि बैंक तथा वित्तीय सँस्थाले दिने कर्जा रकम पनि ठुलै हुने भएपछि ढकालले यस्तो रणनीति अपनाएको अर्का स्थानीय वेदनारायण लिम्बुको भनाई छ। केवलकार परियोजनाको नाममा अधिक महंगोमा किनेको जग्गा अर्थात् ९० लाख रुपैयाँ प्रति रोपनीको भारी भोलि सर्वसाधारणलाई बोकाउने निश्चित रहेको लिम्बु बताउँछन् ।

यस सम्बन्धमा बुझ्न हामीले अध्यक्ष चन्द्र ढकाललाई सम्पर्क गर्यौ तर उनी केवलकारसम्बन्धी बिषय रुद्र पौडेललाई सोध्नु भन्दै पन्छिए । तर पौडेलले भने यो नियम अनुसारनै भएको दावी गरेका छन् ।

स्थानीय समुदायको भावनाविपरीत परियोजना निर्माण गर्न लाग्दा प्रसिद्द धार्मिक तीर्थस्थल पाथिभरामा चर्चा चलेको यतिका समयसम्म पनि केवलकार बन्न सकेन । केही अमुक व्यापारीले राज्य सत्तामा पहुँच भएकै आधारमा स्थानीय समुदायका भावना र मर्म विपरीत केवलकार सञ्चालन गर्ने दुश्साहस गरको स्थानीयको आरोप छ । मुक्कुमलुङलाई पवित्र मुन्धुमी आध्यात्मिक आश्थाको केन्द्रको रुपमा पुज्ने गरेकाले पाथीभरा देवि दर्शन प्रालि नामक कम्पनीबाट केवलकार निर्माणबाट धार्मिक एवम् साँस्कृतिक अतिक्रमण,जैविक विविधताप्रति प्रतिकुल असर पुग्ने र स्थानीय सर्वसाधरण नागरिकका रोजीरोटी खोसिने भन्दै स्थानीयले केवलकार सचालनविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् ।

केवलकार सञ्चालनको विरोधमा मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले अरुणपूर्वका ९ जिल्ला बन्द गरेको छ जसका कारण पूर्वको जनजीवन प्रभावित बनेको छ । पाथिभरा क्षेत्रबाट केवलकार निर्माण परियोजना नहट्दासम्म निरन्तर आन्दोलन गर्ने समितिको अडान कायमै छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *