काठमाडाैं। सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनकि गरेको छ। अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आवको पहिलो ६ महिनामा निर्यातमा ३१.८ प्रतिशतको वृद्धि भएको छ। यस अवधिमा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिमा ७४ अर्ब ९७ करोडको निर्यात भन्दा उल्लेखनीय वृद्धि हो। गत वर्षको यस अवधिमा निर्यात ७.२ प्रतिशत घटेको थियो।
त्यसैगरी, पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरको वस्तु आयात भएको छ, जुन ७.१ प्रतिशतको वृद्धि हो। यस अवधिमा आयात–निर्यात अनुपात ८.३ः१ रहेको छ, जबकि गत वर्षको पहिलो ६ महिनामा यो अनुपात १०.२ः१ थियो।
अर्थ मन्त्रालयका अनुसार, चालु आवको पहिलो ६ महिनामा राजस्वमा १२.७ प्रतिशतको वृद्धि भएको छ। गत आवको सोही अवधिमा राजस्व वृद्धि ८.२ प्रतिशत थियो।
यसका साथै, सरकारले चालु आवको पहिलो ६ महिनामा ७.८ प्रतिशत खर्च वृद्धि गरेको जनाएको छ। वित्तीय संस्थामा निक्षेप संकलन २ खर्ब ११ अर्बले वृद्धि भएको छ र कर्जा प्रवाहमा ४.४१ प्रतिशतको वृद्धि भएको छ।
चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ, जुन कुल व्ययको ३६.५ प्रतिशत हो। पूँजीगत खर्चमा १६.२ प्रतिशत र वित्तीय व्यवस्थाका लागि ४३.२ प्रतिशत खर्च भएको छ।
सरकारले चालु आवको पहिलो ६ महिनामा १ खर्ब ८५ अर्ब ४४ करोड अनुदान हस्तान्तरण गरेको पनि जानकारी दिएको छ, जुन वार्षिक विनियोजनको ४५.४ प्रतिशत हो।






