चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने

नेपाल बैंक र भन्सार विभागबीच बैंकले काठमाण्डौको चोभार सुख्खा बन्दरगाहमा बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भन्सार विभागका तर्फबाट महानिर्देशक कमलप्रसाद भट्टराई र नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बिहीबार भन्सार विभागमा आयोजित एक समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा भन्सार विभागको आवश्यकताअनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य सञ्चालन गर्नेछ ।

उक्त अवसरमा महानिर्देशक भट्टराईले नेपालको पहिलो बैंकसँग राजस्व कारोबारको विषयमा विगत लामो समयदेखि सम्बन्ध र सहकार्य रहेको र यस सम्झौताले सहकार्यलाई थप उचाइमा पुर्याएको विचार राखे । उनले नेपाल बैंक भरपर्दो आधुनिक प्रविधिमैत्री भएकाले सम्झौता गरिएको र चोभार सुख्खा बन्दरगाहबाट छिटोछरितो रुपमा राजस्व संकलन हुने विश्वास व्यक्त गरे ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले अत्याधुनिक र नयाँ उर्जावान कर्मचारीहरुबाट सञ्चालन भएको नेपालको पहिलो बैंक नेपाल बैंकलाई नै चोभार भन्सारको राजस्व संकलनको जिम्मेवारी प्रदान गरेकोमा भंसार विभागप्रति आभार प्रकट गरे । उनले आगामी दिनमा अन्य भन्सार कार्यालयहरुमा पनि बैंकिङ सेवा उपलब्ध गराउने अवसर प्राप्त हुने नै छ भन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशकलगायतका कर्मचारीहरु र नेपाल बैंकका तर्फबाट अपरेसन विभाग प्रमुख र मार्केटिङ एवं रिसर्च डिभिजन प्रमुखलगायतका कर्मचारीको उपस्थिति थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *