काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.७० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी १०३.४९ प्रतिशतले बढेर ८ अर्ब ५३ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ थियो ।
त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ११.७८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा १ अर्ब ९९ करोड ६५ लाख रहेको बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २ अर्ब २७ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब पुगेको छ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ।
चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ।
गत वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी २३ अर्ब १८ करोड रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा १६ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ।







