आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको छ ।
यूएईको सारजाहमा बुधबार भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो । पीएनजीले दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । खराब सुरुआत गरेको नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले ।
रोहितले ५८ रन जोड्दा आरिफले ५३ रन बनाए । पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २र२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।
पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय इनिङ खेले । सोमपालको ओभरमा दिपेन्द्रको हातबाट आउट हुनुअघि उनले ८२ बल खेल्दै ७ चौका प्रहार गरे ।
यस्तै ओपनर टोनी उराले २७ तथा लेगा सियकाले २५ रन बनाए । चाद सोपरले ३५, नोरमान भानुले २३ असद भालाले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान १र१ विकेट लिए ।
अब नेपालले दोस्रो खेलमा घरेलु टोली युएईसँग शुक्रबार खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।
नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।