जब २ घण्टा २२ मिनेट सम्पर्कविहीन जहाजबाट फोन गर्दै श्रीमान‍्ले भने- राम्रोसँग बस्नु, यो अन्तिम कल हो

धनगढी। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाइन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ।

बिहान ७:१२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाडौंमा अवतरण गर्न सकेर फर्किएको थियो। आकाशमा अढाई घण्टासम्म उडेको श्री एयरको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि फर्केर ९:३४ भैरहवामा आपतकालीन अवतरण गरेको हो।

८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए। श्री एयरका धनगढी इञ्चार्ज गजेन्द्र शाहीले काठमाडौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको बताए। तर, काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाडौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको उनले बताए।

अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्त आत्तिकएका थिए। ५० मिनेटमा काठमाडौंमा अवतरण हुनुपर्ने जहाज एक घण्टापछि पनि सम्पर्कविहीन भएपछि त्यसपछि यात्रुका आफन्तहरूले तारन्तार श्री एयरलाईन्समा कल गरेका थिए।

धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो। यात्रुहरूका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए। कोटेश्वर नजिकबाट बिमानस्थल देखिइसकेको थियो। तर जहाज धावनमार्गमा अवतरण नगरी अचानक माथि उड्यो।

त्यसपछि भने बिमानमा रहेका यात्रुहरूको रुवावासी चल्यो। यात्रुहरू निकै आत्तिएका थिए। यात्रुहरूले बिमान परिचारिकासंग जहाजमा खरावी आएको वा मौसम खरावका कारण अवतरण गर्न नसकिएको हो भन्ने विषयमा जानकारी लिन खोज्दा सही जवाफ नपाएको गुनासो गरेका छन्।

जहाजमा रहेकाहरुमा बाँच्ने आशा समेत क्षीण भइसकेको थियो। तिनै मध्ये एक जना यात्रुले घरमा श्रीमतीलाई कल गरेर यो आफ्नो अन्तिम कल भएको र राम्रोसँग बस्नु भनेर भनेपछि उनको घरमा रुवावासी भएको थियो।

काठमाडौंबाट फिर्ता भएको जहाज धनगढीबाट उडेको झण्डै अढाई घण्टापछि भैरहवामा अवतरण भएपछि पनि जहाजमा रहेका यात्रुहरू रोइरहेका थिए। उनीहरू निकै डराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *