गोरखामा ९ महिनामा बन्द भए ११३ घरेलु उद्योग

काठमाडौं । विगत नौ महिनाको अवधिमा गोरखा जिल्ला भित्र सञ्चालित साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । कोरोना महामारीपछि खुलेका ती उद्योग नाफा कमाउन नसकेपछि बन्द हुन् ।

घरेलु उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेलका अनुसार २०८० साउनदेखि फागुन मसान्तसम्म एक सय १३ साना तथा घरेलु उद्योग बन्द भएका छन् । बन्द भएका मध्ये वाणिज्यतर्फका ७३ र उद्योगतर्फ पर्यटनमूलक, सेवामूलक र उत्पादन मूलक क्षेत्रका ६० उद्योग रहेका छन् ।

‘उद्योग बन्द गरेर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पाइएको छ’, उनले भने, ‘व्यापार घाटामा जानुका साथै पुँजी चलायमान नहुँदा उद्योग बन्द हुन थालेका हुन् ।’

अधिकांश युवा स्वदेशमा राम्रो कमाइ भएन भनेर विदेशिने गरेका छन् । युवा विदेश पलायन हुँदा स्थानीय उद्योगमा काम गर्ने जनशक्ति अभाव हुने गरेको छ ।

कार्यालय प्रमुख भुजेल साना उद्योग बन्द हुनुमा आन्तरिक बसाइँसराइ पनि प्रमुख कारण भएको बताउँछन् । कोरोना सङ्क्रमणले थलिएको अर्थ व्यवस्था उकास्न बैंक तथा वित्तीय संस्था र लगानीकर्ताबाट सहज ऋण लगानीको वातावरण नहुँदा पनि साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको उनको भनाइ छ ।

‘पुँजी भएका पनि घाटा हुने डरले लगानी गर्न चाहँदैनन्’, प्रमुख भुजेलले भने, ‘एकातिर दोहोरो कर प्रणाली अनि अर्कोतर्फ व्यापार व्यवसाय गर्न कोहिले पनि ऋण लगानी गर्न नचाहेपछि उद्योगीले उद्योग बन्द गर्न थालेका हुन् ।’

साना लगानीका उद्योग सञ्चालन गर्दा उद्योगीले स्थानीय तहमा पनि दर्ता गर्नुपर्ने र कर तिर्नैपर्ने बाध्यता भएको उनले बताए । ‘यसले लगानीकर्तालाई निरुत्साहित बनाएको छ’, उनले भने ।

चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा कार्यालयमा सात हजार दुई सय साना उद्योग दर्ता भएका छन् ।

दर्ता भएकामा पाँच हजार आठ सय ९३ वाणिज्य तर्फका साना उद्योग रहेका कार्यालयका सूचना अधिकारी समसुद्धिन मियाँले जानकारी दिए । कार्यालयले जिल्ला भित्र १५ करोड रुपैयाँसम्म लगानी गरेका उद्योगलाई दर्ता गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *