रवि लामिछानेको विषयलाई कांग्रेसले राजनीतिकरण गर्न खोज्यो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको सहकारीसम्बन्धी विषय अनुसन्धानका क्रममा रवि कतै दोषी नदेखिएको जिकिर गरेका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा प्रचण्डले रविको विषयलाई कांग्रेसले राजनीतिकरण गर्न खोजेको आरोप लगाए।

प्रधानमन्त्रीले रवि लामिछाने उक्त सहकारीको सञ्चालक समिति, लेखा समिति, वा अन्य कुनै समिति र जिम्मेवारीमा नरहेको तथा अदालतमा विचाराधीन मुद्दामा पनि कतै नजोडिएकाले यसलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे।

प्रधानमन्त्रीले भने, ‘सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन। यो दरखास्तउपर प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न भएको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ गते मुद्दा दायर गरेको थियो। जुन अदालतमा अझै विचाराधीन नै छ। ती १९ जनामध्ये चारजना पक्राउ परेका छन् भने बाँकीको प्रहरीले खोजी गरिरहेको छ।’

प्रधानमन्त्रीले रवि लामिछाने प्रतिपक्षमै रहेका बेला सो सहकारी प्रकरणको अनुसन्धान भएको र उनको भूमिका कतै नदेखिएको भन्दै अहिले सरकारमा सहभागी भएका बेला स्वार्थको द्वन्द्व हुने भनी कांग्रेसले उठाएको प्रश्नको औचित्य नरहेको बताए।

प्रधानमन्त्रीले सहकारी ऐन २०६४ को दफा २ (त) अनुसार सहकारी संस्थाले सदस्यसँग मात्र कारोबार गर्न पाउँने भन्दै सदस्य नभएको व्यक्तिसँग संस्थाको कारोबार नहुने भएकाले सदस्य नै नभएको रवि लामिछानेको भूमिका सहकारी ठगीमा हुन नसक्ने जिकिर गरे।

रास्वपा फेरि सरकारमा सहभागी हुने चर्चा हुन थालेपछि र सरकारमा सहभागी भएपछि यो विषयलाई संसदको नियमित काम कारबाही प्रभावित हुने गरी उठाएको भन्दै यसबारे प्रहरीले गत असोजमा नै अनुसन्धान गरी मुद्दा बुझाएको बेला रवि सरकारमा नरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *