काठमाडौं। सत्ता गठबन्धनमा आबद्ध दलहरूको साझा न्यूनतम कार्यक्रम आज दिउँसो २ बजे सार्वजनिक गरिने भएको छ।
आजै बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो कार्यक्रम सार्वजनिक गर्ने तय थियो। समय परिवर्तन गरेर दिउँसो २ बजे मात्र कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी गराएको छ।
यसअघि, हिजो नै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भनिएको थियो। गएको शनिबार सत्ता गठबन्धनको कार्यदलले बालुवाटार पुगेर शीर्ष नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको थियो।
सरकारमा सहभागी पाँच दलबाट दुई/दुई नेता कार्यदलमा थिए। कार्यदलमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल थिए। नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा थिए।
कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल थिए। जनता समाजवादी पार्टी (जसपा)बाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनीष सुमन थिए। नेकपा (एकीकृत समाजवादी)बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल थिए।
यसलाई गठबन्धनका पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन्। अहिलेको शिथिलता, विदेश पलायन, उत्पादन र देशको मौजुदा अवस्थालाई कार्यक्रममा प्राथमिकता दिइएको बताइएको छ।






