एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गर्न निर्देशन दिएका छन्।

आज फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो, तर सो प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नुपरेको गुनासो छ।

यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएको जनाइएको छ। मन्त्री अर्यालले संसारको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिए।

‘तपाईंहरूले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस् अन्यथा अन्य विकल्प खोजेर भए पनि एक महिनाभित्रमा एक घण्टामा श्रम स्वीकृति दिन सक्ने गरी फेमिस प्रणालीको सुधार गर्नेछु,’ उनले भने।

मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ। फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता ई–बिमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो।

सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न, अनलाइन टोकन र श्रम स्वीकृति प्रदान गर्नका लागि सफ्टवेयर खरिद गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *