प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाए ।

जम्मा २६८ सांसदले भोट हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ । एकजना तठस्थ बसेका छन् ।

विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएकाो भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरे ।

२१ फागुनमा कांग्रेससँगको सहकार्य तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाएका प्रचण्डलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिएका छन् ।

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरे ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *