काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले र कांग्रेस मिल्दा कहाँ जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा उनले पहिले धोका पाएको एमाले र कांग्रेस मिले के होला भन्दै प्रश्न सोधेका हुन् ।
उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?
उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सहमति हुने संकेत गर्दै प्रचण्डको प्रधानमन्त्रीको पद नरहने बताए ।
‘कुरा नचल्ने भनेर भन्नुभयो पूर्व प्रधानमन्त्रीज्यू (केपी शर्मा ओली) ले, तलबाट हाम्रा सभापतिज्यूले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरूको कुरा चल्न सुरु गर्यो भने यहाँको यात्राचाहिँ कता चल्छ होला प्रधानमन्त्रीज्यू ,’शर्माले भने ।







