काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत विहीबार हुने नामिबियाविरुद्धको पहिलो खेलमा नहुने भएका छन् ।
दीपेन्द्र सम्मिलित गल्फ जायन्टसले बुधबार साँझ आइएलटि २० को क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछ । उनी उक्त खेलमा उपस्थित रहने भएकाले विहीबार हुने नेपालको खेलमा उपस्थित नहुने भएका हुन् । उक्त खेलको नतिजा हेरेर दीपेन्द्रको अन्य खेलमा सहभागिताबारे निर्णय हुनेछ ।
दीपेन्द्रले आइएलटि २० मा विश्वस्तरीय खेलाडीविरुद्ध खेल्ने अवसर पाउनेछन् । त्यसैले पनि नेपालमा क्यानडा सिरिज र लिग-२ का केही खेल गुम्ने थाहा हुँदाहुँदै उनलाई उक्त लिगमा खेल्न प्रशिक्षक टोलीबाट स्वीकृति दिइएको थियो ।
नेपालले यसै जुनमा अमेरिका र वेस्ट इन्डिजमा टि २० विश्वकप खेल्दैछ । त्यसका लागि लिग-२ लगत्तै नेपालले लगातार तयारी सिरिजहरु पनि खेल्दैछ । दीपेन्द्रलाई उच्च स्तरीय खेलमा प्रतिस्पर्धा गर्ने अवसर आएकै कारण ओडीआई छोडेर यूएई जान स्वीकृति दिइएको थियो ।
फाइनल खेल शनिबार राति छ । आज पराजित हुँदा भोलि (बिहीबार) दोस्रो क्वालिफायर खेल्नुपर्ने हुन्छ । उक्त खेलमा पराजित भएमा मात्रै दीपेन्द्र नेदरल्यान्ड्ससँगको खेलमा उपलब्ध हुनेछन् । तर, यदि फाइनलमा पुगेको खण्डमा भने दीपेन्द्रले सुरुआती दुई खेल गुमाउने पक्का छ ।
नेपालले विहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ । २१ फेब्रुअरीमा नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि नामिबिया र नेदरल्यान्ड्ससँग नै त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने कार्यक्रम छ ।
अर्थ सन्जाल