उर्लाबारी। मोरङको उर्लाबारी ३ मङ्गलबारेस्थित किरात राई यायोक्खा उर्लाबारी नगर समितिले घेरावार गरेको झण्डै डेढ बिघा जग्गा संरक्षण गर्न बसेकै ब्यक्तिबाट असुरक्षित बन्दै गएको छ।
यायोक्खाले उक्त जग्गा र साकेला थानको सुरक्षाका लागि संस्थाका तत्कालिन सचिव नारायण चाम्लिङलाई जिम्मा दिएको थियो। नारायणलाई साकेलाथानमा सानो अस्थाई क्वाटर बनाएर बस्ने र दैनिक आइपर्ने सुरक्षा सम्बन्धि काम गर्ने गरी जिम्मेबारी दिइएको थियो।
तर, नारायणले आफ्नै पाखोवारी जस्तो गरी घर बनाउने, बारी खनीखोस्री गर्ने, कुखुरा, सुँगुर रागा र भैंसी पाल्ने जस्ता काम मात्र गरेनन्। संरक्षित वन क्षेत्रका रुख र बल्ला बल्ली काट्ने फाड्ने र तीनै दाउराले बर्सौदेखि रक्सी पार्ने र बिक्री गर्ने गरेको समेत खुल्न आएको छ।
कार्य समितिको सचिव भएर पनि संस्थामा १ रुपैयाँ आम्दानी नबाँधेका नारायण अहिले संस्थाको उपाध्यक्ष छन्। सचिवबाट उपाध्यक्ष भएपछि उनले विगतमा गरेको गल्तीका कारण बढुवा भएको ठानेका छन्।
संस्थागत रुपमा एउटा पनि राम्रो काम नगरेका नारायण अहिले झनै हौसिएका छन्। समाचार स्रोत भन्छ, ‘साकेलाधानको जग्गा सुरक्षाका लागि राखेको पदाधिकारी ले नै संस्था भित्रका बोट बिरुवा काट्ने, रक्सी पारेर बिक्री गर्ने, गोठ बनाउने गरेपछि गुनासो कसलाई गर्ने?’
साकेला परिसरभित्र होटल समेत खोल्न भ्याएका नारायणले हालसम्म साकेलाको खातामा जम्मा हुने गरी एक रुपैयाँ तिरेका छन्। स्रोतको दोहन गर्ने, उपयोग गर्ने तर ,आम्दानी नबाँधने गरेपछि यतिबेला नारायणलाई हटाएर नयाँ ब्यक्तिलाई राख्नु पर्ने कुरा उठ्न थालेको छ।






