तुर्माखाँद गाउँपालिकाका अध्यक्ष बिसीले दिए उत्कृष्ट विद्यार्थीलाई आफ्नो पारिश्रमिक

काठमाडौं। अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले आफ्नो पारिश्रमिक उत्कृष्ट विद्यार्थीलाई दिएका छन् ।

अध्यक्ष बिसीले विद्यालयमा सबैभन्दा बढी नतिजा ल्याएर उत्कृष्ट बनेका कक्षा १ का रमेशबहादुर विक र रेमुकाकुमारी बुढालाई आफ्नो एक महिनाको पारिश्रमिकबाट १५/१५ हजार नगद दिएका छन् । उनीहरू दुवैजना ४ जिपिए नतिजासहित विद्यालयमा उत्कृष्ट बनेका विद्यार्थी हुन्।

अध्यक्ष बिसीले रमेश र रेमुकाका अभिभावकलाई सम्मानपत्रसमेत दिएका छन्। सम्मानपत्र बुझ्दै रमेशका आमाबुबा शर्मिलादेवी विक र पूर्णबहादुर विक तथा रेमुकाका आमाबुबा साबित्री शाही (बुढा) र महेश बिसीले यो सम्मानले दुर्गमका सबै बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन प्रेरणा दिने विश्वास गरेको छन् ।

तुर्माखाँद गाउँपालिका वडा नम्बर– ३ भैरवस्थानको थाल्पाटामा रहेको बसुन्धरा माविको ४८औँ वार्षिकोत्सव समारोहमा अध्यक्ष बिसीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको मनोबल बढाउन रमेश र रेमुकालाई आफ्नो पारिश्रमिकबापतको रकम दिएको भन्दै आगामी दिनमा विपन्न र अनाथ बालबालिकालाई पनि आर्थिक सहयोग गरी उनीहरूलाई पढाइका लागि खर्च व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाएका छन्।

उनले यसै शैक्षिक सत्रभित्र गाउँपालिकाको निकै दुर्गममा रहेको वडा नम्बर १ रहफको बिन्द्रासैनी माविका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत पारिश्रमिक रकम दिने घोषणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *