बुटवल । डेढ वर्षयता ग्राहकको बचत फिर्ता गर्न नसकेपछि बुटवलमा सञ्चालित १० सहकारी बन्द भएका छन् । रकम फिर्ता माग्न बचतकर्ताको दैनिक भीड लाग्न थालेपछि सहकारी सञ्चालक कार्यालय नै बन्द गरेर सम्पर्कविहीन भएका हुन् ।
बुटवलको योगीकुटीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था झन्डै ३ करोड बचत रकम फिर्ता गर्न नसकेपछि डेढ वर्षअघि बन्द छ । अहिले योगीकुटीबाट सहकारीको कार्यालय नै हटेको छ । कृषि सामग्री उत्पादन र ग्रोसरी सामग्री बिक्री गर्दै आएको शिवशिखरले दैनिक बचत रकम अन्य व्यवसायमा लगानी गर्दै गएपछि स्थानीय बचतकर्ता समस्यामा परेका हुन् । बुटवलमा तीन वर्षअघि कार्यालय खोलेको यो सहकारीमा झन्डै १७ सय बचतकर्ता थिए ।
भक्तपुरको कौशलटारमा प्रधान कार्यालय रहेको सहकारीका देशभर २६ शाखा र सेवा केन्द्र छन् । १ लाखभन्दा बढी बचत सदस्य रहेको यो संस्थामा बाँके कोहलपुरका केदारनाथ शर्मा सञ्चालक र उनकी श्रीमती गीता शर्मा कार्यकारी निर्देशक थिए । बचतकर्ताको रकम दम्पतीले आफ्नो शिखर अर्गनाइजेसन नामक कम्पनीमार्फत झन्डै डेढ दर्जन कम्पनी र उद्योगमा लगानी गर्ने गरेका थिए ।उनीहरूलाई अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सहकारीका सञ्चालक अमिसराज भण्डारी र पुष्कर मल्ल पनि पक्राउ परेका छन् ।
बुटवलकै सुप्रिम, आगन्तुक, साइन, विश्वविराट, उपकार, सप्तदीप, नमस्ते, उपदेश, सुनौलो बहुउद्देश्यीय सहकारी पनि बचत रकम फिर्ता गर्न नसकेपछि बन्द छन् । बुटवलका सहकारीहरूले लघु जलविद्युत्, उद्योग, पर्यटन, कृषिका क्षेत्रमा बढी लगानी गरेका छन् । त्यस्तै घरजग्गा खरिद, हायर पर्चेजमा पनि सहकारीको बिनाधितो लगानी छ । तर, स्थानीय र प्रदेश सरकारको नियमन र अनुगमन फितलो छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।







