त्रिविको ४९औँ दीक्षान्त समारोह आज, १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित हुँदै

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ। दशरथ रंगशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल हुनेछन्।

विद्यार्थीका लागि बिहान १० बजेदेखि नै समारोहस्थल खुल्ला गर्ने विश्वविद्यालयले जनाएको छ। यो वर्ष १२ हजार चार सय १५ जना विद्यार्थी दीक्षित हुन लागेका छन्।

२०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार चार सय १५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका त्रिविले जनाएको छ।

यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित हुँदैछन्। उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, एमफील र पीएचडीतर्फ गरी एक सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने त्रिविले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *