झाडी फाँडेर सामूहिक सुन्तला खेती

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्ष अघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँ खेती गर्ने बारी थियो ।

विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तिस, अ‍ैसेलु, बनमारा उम्रिएर झाडीमा परिणत भयो ।

बादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने अर्जुन तिलिजालगायतले विसं २०७८ मा कल्लेरी पाखोलाई पुरानै अवस्थामा फर्काउने योजना गाउँलेलाई सुनाए । बादुकवासी र जनप्रतिनिधिलाई बाँझिएर बनेको झाडी फाँडेर खनजोत गरी सुन्तला र एभोकाडो खेती गर्ने योजना मन पर्‍यो ।

गाउँले, प्रवासी र विवाह गरेर अन्यत्र गएका चेलीबेटीले रु ५० हजारदेखि एक लाख सङ्कलन गरेर बादुक सामूहिक कृषि फार्म स्थापना मात्र गरेनन् झाडी फाँडेर सुन्तलाको हराभरा बगैँचा बनाएका छन् ।

‘पहिरोपछि हामीले खेती गर्न छाडेर झाडीमा परिणत भएको कल्लेरीको पाखो यस्तो हराभरा सुन्तला बारीमा रूपान्तरण गर्न सकिएला भनेर सोचेका पनि थिएनौँ’, बादुकका बासिन्दासमेत रहेका वडा सदस्य भक्तबहादुर शेरपुञ्जाले भने, ‘सबै गाउँले, विदेशी र छोरी चेली मिलेर झाडी फाँडेर सुन्तला बगैँचा बनाउन सफल भएका छौँ ।’

एक सय ३० रोपनी पाखो बारीमा एक हजार पाँच सय बोट सुन्तलाका बिरुवा हुर्किरहेका छन् । सुन्तलासँगै चार सय बोट एभोकाडो लगाएकामा पहिरोले क्षति गरेर अहिले एक सय बोट मात्र छन् । पहिरोले तीन सय बोट एभोकाडोमा क्षति गरेको छ । सुन्तला बगैँचाभित्र तोरी खेती र मौरी पालन गरेका छन् ।

‘पूर्व फर्किएको कल्लेरीको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त भएकाले व्यावसायिक हिसाबले सामूहिक खेती गरेका हौँ’, स्थानीय बेगबहादुर पुर्जाले भने, ‘झाडी फाँड्न, खनजोत गर्न र सुन्तला लगाउन एउटा घरले दुई महिनासम्म श्रमदान गरेका छौँ । अहिलेसम्म सोचेको भन्दा राम्रो भएको छ ।’

उनका अनुसार ५५ जनाले रु एक–एक लाख र पाँच जनाले रु पचास–पचास हजार सेयर लगानी गरेका छन् । फार्म स्थापना गर्न हालसम्म करिब रु ४० लाख खर्च भएको छ । फार्म रेखदेख गर्न बादुकका नरकाजी फगामी र लोकेन्द्र गर्बुजालाई कर्मचारी राखिएको छ ।

रोजगारी सिर्जना र गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक सुन्तला खेती गरेको फार्मका सञ्चालकहरूको भनाइ छ । जग्गाधनीले सुन्तलाबाट आम्दानी नहुँदासम्म जग्गाको भाडा नलिने सहमति गरेका छन् ।

सुन्तला खेतीमा आवश्यक पर्ने मलका लागि तीन वटा जर्सी जातका गाई र एक साँढे पालिएको छ । गाईको दूध बेचेर एक जनाको तलब व्यवस्थापन गरिएको छ । सेयर लगानी गरेकाहरूबाट सुन्तलाले उत्पादन नदिँदासम्म वार्षिक रु दुई हजार पाँच सयका दरले नगद अथवा पाँच दिन बराबर श्रमदान गर्नुपर्ने नियम बनाएका छन् । बगैँचा गोडमेल, मलजल गर्न श्रमदान र सेयर सदस्यबाट सङ्कलन गरेको रकम परिचालन गरिएको छ । रु २० लाखको कोषबाट अर्का एक जना कर्मचारीको तलब व्यवस्थापन गरिएको छ ।

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र म्याग्दीले बादुकको सामूहिक सुन्तला खेतीलाई सहयोग गरेको छ । कल्लेरीमा सिँचाइ योजना निर्माण गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।

‘बादुकको सामूहिक सुन्तला खेती म्याग्दी जिल्लामै नमूना देखिएको छ’, उनले भने, ‘बाँझिएको जमिनलाई सदुपयोग गरी रोजगारी सिर्जना र गाउँलाई समृद्ध बनाउन बादुकवासीको अभियान अन्यका लागि पनि अनुकरणीय छ ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *