गाजाको अस्पतालमा भएको आक्रमणको नेपालद्वारा निन्दा

काठमाडौं । नेपाल सरकारले गाजाको एक अस्पतालमा भएका आक्रमणमा परी सायौं निर्दोष नागरिक मारिएको घटनाको निन्दा गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबारको उक्त घटनाले स्तब्ध बनाएको उल्लेख गरेको छ ।

‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

विज्ञप्तिमा सर्वसाधारण नागरिक विरुद्धको यस आक्रमणलाई लिएर गम्भीर रूपमा चिन्तित भएको जनाइएको छ । नेपालले जस्तोसुकै परिस्थितिमा भए पनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ । नेपाल शान्तिमा विश्वास गर्ने भन्दै जारी विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न पनि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *