स्वास्थ्यकर्मीमाथि आक्रमण राेक्न र सेवा बन्द नगर्न मानव अधिकार आयाेगकाे आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सकमाथिको आक्रमण तथा स्वास्थ्य संस्था तोडफोड रोक्न र स्वास्थ्यकर्मीहरूलाई पनि सेवा बन्द नगर्न आग्रह गरेको छ । स्वास्थ्यकर्मीको आन्दोलनका कारण नागरिकको स्वास्थ्योपचारमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले आक्रमण नगर्न र सेवा नरोक्न दुवै पक्षलाई आग्रह गरेको हो ।

कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुर्व्यवहार र कुटपिट नगर्न आयोगले सचेत गराएको छ । स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न आयोगले भनेको छ । स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न पनि आयोगले ध्यानाकर्षण गराएको छ ।

चिकित्सकको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता र बिरामीले भोग्नुपरेका समस्याबारे निरन्तर अनुगमन गरिरहेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् । ‘गत भदौ २४ गते हेटौँडाको सञ्चो अस्पतालका चिकित्सकमाथि सेवाग्राहीबाट हातपात भएको, असोज ७ गते लमजुङको लमजुङ अस्पतालका चिकित्सकमाथि स्थानीय जनप्रतिनिधिबाट हातपात भएको, असोज ८ गते पोखराको मणिपाल अस्पतालमा चिकित्सकहरूमाथि सेवाग्राहीले कुटपिट, दुर्व्यवहार र आक्रमण गरेको घटना सम्बन्धमा आयोगले अनुगमन गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लोपटक पोखराको मणिपाल अस्पतालमा सुरक्षाकर्मीबाट समेत चिकित्सकमाथि दुर्व्यवहार गरिएको आयोगको ठहर छ । सेवा नै बन्द गरी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रँदा नागरिकको स्वास्थ्योपचारको हकमा असर पर्ने आयोगले जनाएको छ । कुनै चिकित्सक दोषी देखिए कानुनी कारबाहीको दायरामा ल्याउनुको सट्टा आक्रमण गर्ने प्रवृत्ति बढ्दै जानु लोकतन्त्र, मानवअधिकार र विधिको शासनविपरीत हुने विज्ञप्तिमा उल्लेख छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *