काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो रगतरगतमा राजसंस्था रहेको बताएका छन् । मंगलबार संयुक्त राष्ट्रय जनमोर्चा मोर्चाबीच राष्ट्रिय सभागृहमा भएको एकता घोषणासभामा बोल्दै उनले राजसंस्थाप्रति आस्था र सम्मान सदैव रहेको बताएका हुन् ।
‘राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान सदैव छ । कुनै स्वार्थ, कुनै पद र कुनै भोटको लोभमा राजसंस्थालाई अंगालेका होइनौं’, अध्यक्ष थापाले भने, ‘हाम्रो रगतरगतमा राजसंस्था छ ।’
एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपाबाट बाहिरिँदै गर्दा उनले राजसंस्थाको एजेन्डा छाडेको घोषणा गरेका थिए । तर मोर्चासँगको एकतापछि भने उनले राप्रपा नेपाल आफ्नो पूर्व नीतिमा पूर्निविचार गर्ने निर्णयमा पुगेको बताएका हुन् ।
‘नेपालको भूराजनीति, धार्मिक तथा सामाजिक परिवेशमा चुनावी राजनीतिभन्दा माथि उठेको एउटा अभिभाकीय संस्थाको रुपमा राष्ट्रियता र एकताका रुपमा राजसंस्था उपयुक्त हुन्छ भन्ने मान्यता पुर्नजागृत राप्रपा नेपालले अलम्बन गरेको छ’, उनले भने ।
अध्यक्ष थापाले आफूहरुका कारण अब राष्ट्रिय राजनीतिमा तरंग पैदा हुने दाबी पनि गरेका छन् । ‘यो एकता नेपालमा राष्ट्रवादी शक्ति निर्माण गर्ने एउटा कोशे ढुंगा सावित हुने र यो एकता केवल प्रारम्भ मात्र हो’, उनले भने, ‘अब यो एकतासँग राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना हुनेछ । यो एकता घोषणासँगै यसका अन्तरनिहीत मान्यताको कारणले गर्दा केही समय पछि हाम्रो मान्यता र विचार राष्ट्रिय बहसको विषय हुने छन् । र नेपालका राजनीति शक्ति साथै देशी विदेशी शक्तिले पनि हाम्रो अवधारणा, मान्यता र गतिविधिलाई नोटिसमा राख्न बाध्यत्मक अवस्था सिर्जना हुने छ ।’

उनले मोर्चासँगको एकतापछि कोही नेता कार्यकर्तालाई पदको कमि हुन नदिने बताए । काम गर्नेलाई पद सिर्जना गरेर भएपनि व्यवस्थापन गरने बताए । उनले एकताको सन्देश संघीय गणतन्त्रको नाममा कायम भएको भ्रष्टतन्त्र र भ्रष्ट व्यवस्थाको अन्त्य भएको बताए ।
अध्यक्ष थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डमा संलग्न रहेको आरोप समेत लगाएका छन् । उनले भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको बताए ।
उनले प्रधानमन्त्री र गृहमन्त्री नै भ्रष्टाचारमा संलग्न हुँदासमेत कारबाही नगरिएको बताए । थापाले नेताहरूले आफ्नो मुखुन्डो उघारिएला भन्ने डरले सुन बोकेर हिँडेको ट्याक्सीलाई गन्तव्यमा नपुग्दै समातिएको पनि बताए । उनले नेताहरूले भ्रष्टाचारका नयाँनयाँ फाइलहरू खोल्ने भने पनि विश्वास गर्न नसकिने बताए । अध्यक्ष थापाले सरकार सर्वसत्तावादी ढंगले सञ्चालन भइरहेको पनि आरोप लगाए ।







