काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले आज मंगलबार बिहान सेयर बाँडफाँट गरेको हो ।
योजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको सेयर आज बाँडफाँट भएको हो ।
कम्पनीले श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई २ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २५ हजार २ सय १९ जनाको आवेदन परेकोमा १ जनाको आवेदन रद्द भई २५ हजार २ सय १८ जनाको आवेदन मात्र योग्य भएको छ । सबै योग्य आवेदकलाई न्युनतम १० कित्ता सेयर बाँडफाँट गर्न नपुग्ने भएकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । जसमा गोलाप्रथाबाट २० हजार जनाले १० कितात्को दरले सेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । सेयर नपरेका आवेदकले सर्वसाधारणलाई सेयर निष्काशन गर्दाको समयमा आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावितलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । यस निष्काशनमा ७ सय २२ जनाको आवेदन परेको छ । ७ सय २२ जना आवेदकले आफुले माग गरे बमोजिम शेयर पाएका छन् । यस हिसाबमा कुल १ लाख ८३ हजार ३ सय ८० कित्ता सेयर बाँडफाँट भएको छ । स्थानीयले खरिद नगरेको ६ लाख १६ हजार ६ सय २० कित्ता सर्वसाधारणमा निष्काशन हुने छ ।




