राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले सम्पत्तिको हक मौलिक हक भएकाले सार्वजनिक गर्न नमिल्ने बताए । उनले भने, ‘सम्पत्तिको हकलाई मौलिक हकको रुपमा राखिएको छ । कानुनले तोकेको अवस्थामा चाहिँ, जस्तो अकुत सम्पत्ति राखेको आधारमा, इन्भेटिगेसन गर्ने आधारमा अख्तियार, राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण खोल्न सक्ने कुरा दिएको छ । यी अवस्थामा बाहेक अन्य अवस्थामा सम्पत्ति विवरण पारदर्शी गर्नैपर्छ भन्ने छैन । पारदर्शी गर्ने कुरा स्वच्छिक कुरा हो । कुनै पनि व्यक्ति वा मिडियाले खोजेकै आधारमा चाहिँ सम्पत्ति विवरण देखाउन पर्दैन । सम्पत्ति विवरण नबुझाएको हो भने बुझाउन चाहिँ आवश्यक छ । यो विषयमा चाहिँ पारदर्शीता चाहिन्छ । बुझाएको र नबुझाएको कुरा पारदर्शी हुनुपर्यो । बुझाएको अवस्थामा कति छ उसको सम्पत्ति भन्ने कुरा उसले सार्वजनिक गर्न चाहेको अवस्थामा चाहिँ सार्वजनिक हुन्छ । नत्र सार्वजनिक हुँदैन ।’
सुवेदीले सबै सार्वजनिक व्यक्तिहरुले विवरण चाहिँ अनिवार्य पेश गर्नुपर्ने बताए । आरोप नै लागे पनि उसले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ भन्ने कुनै प्रावधान नरहेको सुवेदीको भनाई छ । उनले थप भने, ‘व्यक्तिको सम्पत्ति सार्वजनिक गर्न बाध्य हुने कुनै कानून छैन । आरोपित व्यक्तिको सम्पत्ति विवरण बाहिर सतहमा ल्याउनुपर्छ भन्ने कानुनी व्यवस्था पनि छैन । तर यदि इन्भेटिगेसन गर्ने निकायले आफैँले गोप्य रुपमा अनुसन्धान गर्नु पर्यो भने गर्न पाउने छ । यदि उसको सम्पत्ति अकूत हो भन्ने लागेमा मुद्दा दायर गर्ने व्यवस्था छ ।
अहिले इन्भेटिगेसन गर्ने अधिकार राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई रहेको छ । यी निकायले सम्पत्ति विवरण खोलेर हेर्न सक्छन । तर उसको सम्पत्ति विवरण अकूत हो भन्ने प्रमाणित नभई बाहिर ल्याइदिन भने मिल्दैन । यो इन्भेटिगेसन गर्ने निकायले पनि बाहिर ल्याउन मिल्दैन । र अदालतले चाहेको खण्डमा सम्पत्ति विवरण मगाएर खोलेर हेर्न सक्छ ।’ अरु कसैलाई सम्पत्ति विवरण खोलेर हेर्ने अधिकार नभएको सुवेदीको भनाई छ ।







