सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । योसँगै संघीय संसद्का दुवै सदनबाट पारित भएको हो ।
राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाबाट यही असार १३ गते आगामी आवको बजेट पारित भएको थियो । सरकारले गत जेठ १५ गते संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।
संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गते (सोमबार)देखि बजेट कार्यान्वयनको बाटो खुलेको छ ।







