धरान उपमहानगरको बजेट १ अर्ब ७१ करोड

धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ससर्तसहित १ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्राथमिकताका आधारमा क्रमशः पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापन क्षेत्रलाई बजेट विनियोजन गरिएको छ । बजेटमा ‘खानेपानी’लाई प्राथमिकतामा राखिएको छ ।

आन्तरिक राजस्वबाट ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकार अनुदानबाट ९० करोड २ लाख, प्रदेश सरकार अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

ससर्त बजेटसहित धरान उपमहानगरपालिकाको १३ औं नगरसभामा सार्वजनिक बजेटमा सबैभन्दा बढी सामाजिक विकासमा ५४ करोड ८० लाख, पूर्वाधार विकासमा ४३ करोड ५१ लाख ५० हजार, क्रमागत आयोजनाका लागि ३२ करोड ४२ लाख ५० हजार, शिक्षासम्बन्धी ससर्त कार्यक्रमका लागि ४५ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

धरान उपमहानगरको आन्तरिक आय २५ करोड रुपैयाँ प्रक्षेपण गरिएकाे छ। गत आर्थिक वर्षमा १ अर्ब ६८ करोडको बजेट विनियोजन गरिएको थियो ।

धरान उपमहानवरका २० वटा वडाहरुलाई कुल २१ करोड बजेट सिलिङ गरिएकाे छ भने मेयरकोषमा १ करोड ५० लाख र उपमेयर कोषमा ५० लाखको बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *