काठमाडौं । संघीय सहकारी विभागले पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष सिबी लामा र अन्य सञ्चालकहरुलाई पक्राउ गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पत्राचार गरेको छ ।
विभागले शुक्रबार पक्राउ गरी छानविन गर्न सीआईबीलाई पत्राचार गरेको हो । विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न २०७९ फागुन २९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको थियो । तर मन्त्रालयले हालसम्म पनि समस्याग्रस्त घोषणा गरेको छैन ।
पशुपति सहकारी विगत ३ वर्षदेखि संकटमा छ । संस्थाले सदस्यको हित विपरित कार्य गरेको, निर्धारित शर्त बमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य मान्यता एवं सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेको विभागको ठहर छ ।
गत साउन २ गते ७८ जना सदस्यले संस्था विरुद्ध सहकारी विभागमा उजुरी दिएका थिए ।






