एसिड पीडित बालिकाको उपचारका लागि एक लाख ७५ हजार उपलब्ध गराउने निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीको उपचार खर्चबापत एक लाख ७५ हजार उपलब्ध गराउने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर बर्न हस्पिटलमा उपचाररत कार्कीको उपचारमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले प्रदेश खेलकुद ऐन, २०७६ बमोजिम गठन भएको प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदमुक्त गरेको छ। सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन्वय नगरी काम गरेको र त्यस विषयमा ‘तपाईंलाई पदबाट किन नहटाउने?’ भनी दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि चित्त बुझ्दो स्पष्टीकरण नदिएकाले उनलाई पदबाट हटाइएको जनाइएको छ।

यस्तै, आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०७९ मा उल्लेख भएबमोजिम आर्थिकरुपले विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि प्रदान गरिने उपचार सहुलियत रकमको व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयलाई प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत एक करोड ५० लाख थप बजेट निकासा दिने निर्णय पनि भएको मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *